संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार बिहान ११ बजे बस्दैछ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ हुने कार्यसूची तय भएको छ। आजको बैठकमा छ वटा मन्त्रालयका बजेटमाथि समूहीकृत रूपमा छलफल गरिनेछ । ती मन्त्रालयहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेका छन् ।
साथै, विनियोजन विधेयक, २०८२ अन्तर्गत खर्च रकम कटौती गर्नुपर्ने प्रस्तावहरू पनि पेश हुनेछन् ।
सांसद अमरेश कुमार सिंहले सबै छवटै मन्त्रालयको शीर्षकगत खर्च रकम घटाएर एक रुपैयाँ कायम गरिनुपर्ने प्रस्ताव पेश गर्नेछन् । सांसद प्रेम सुवालले पनि मन्त्रालयहरूको खर्च रकम घटाउने छुट्टै प्रस्ताव ल्याउनेछन् ।
त्यस्तै,
रेखा शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खर्च रकम एक सय रुपैयाँले घटाउनुपर्ने प्रस्ताव ल्याउनेछिन् ।
प्रभु साह र चित्र बहादुर केसीले युवा तथा खेलकुद मन्त्रालयको खर्च एक रुपैयाँले घटाउनुपर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
शंक्तिबहादुर बस्नेतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, हितराज पाण्डेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, रामकुमार राईले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा देवेन्द्र पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको शीर्षकगत खर्च एक रुपैयाँमा घटाउनुपर्ने प्रस्ताव पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको बजेट खर्चको औचित्यमाथि सांसदहरूबाट प्रश्न उठ्ने र छलफल तीव्र हुने अपेक्षा गरिएको छ ।