प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको शीर्ष नेताहरूको बैठकमा तीन प्रमुख राजनीतिक दलले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम तोकिएको समयभित्रै टुङ्ग्याउने सहमति गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूको छलफलमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई तोकिएको चारवर्षे कार्यकालभित्र आवश्यक कार्य सम्पन्न गर्ने सहमति भएको हो ।
छलफलमा पीडित पक्षले उठाएका माग सम्बोधन गर्ने, आयोगका पदाधिकारी नियुक्तिका विषयमा गम्भीर छलफल गर्ने र सरकारका तर्फबाट अनुसन्धानलगायतका काममा आवश्यक सहयोग उपलब्ध गराउने विषयमा सहमति भएको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोगमा हालसम्म ६३ हजारभन्दा बढी उजुरी परेको छ भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तीन हजारभन्दा बढी उजुरी दर्ता भएका छन् । अहिले दुवै आयोगले थप उजुरी संकलनका लागि सूचना प्रकाशित गरिसकेका छन् ।