“समृद्ध नगर, खुसी नगरवासी” भन्ने नाराका साथ गरुडा नगरपालिकाको १३औं नगरसभा शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ ।
नगरसभाको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले दीप प्रज्वलन गरी गर्नु भयो। सभाको अध्यक्षता नगर प्रमुख कन्थमणी प्रसाद जयसवाल (कलवार) ले गरेका थिए ।
नगर उपप्रमुख पुनम चौधरीले आर्थिक वर्ष २०८२/०८३ को संशोधित नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो। नगरसभाले सो प्रस्ताव पारित गर्दै करिब ७० करोड रुपैयाँको आय–व्यय बजेट स्वीकृत गरेको हो।
उपप्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, सडक, उद्योग, रोजगार, लघुउद्यम, पशु सेवा, महिला तथा बालबालिका, अपाङ्ग, दलित, र पछाडि पारिएका वर्गका पूर्वाधार विकासलाई प्राथमिकता दिने बताउनुभयो ।
उनका अनुसार नगरपालिकाले कृषि सहुलियत नीति यस वर्ष पनि निरन्तरता दिएको छ ।
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, सञ्चारकर्मी, सुरक्षा निकायका अधिकारीहरू तथा नगरवासीको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख रामानन्द सहनिले गर्नुभएको थियो भने स्वागत मन्तव्य सोभिलाल सहनीले राख्नुभएको थियो ।