देशभर अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादनमा तीव्र गिरावट आएको छ । उत्पादन घटेपछि बजारमा माग बढेको छ र सोको सीधा असर मूल्यमा देखिएको छ । हाल अण्डा उत्पादन करिब २५ प्रतिशतले घटेको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार अत्यधिक गर्मीका कारण कुखुराले दाना कम खान थालेका छन्, जसले अण्डा उत्पादनमा सीधा असर पारेको हो । “गर्मीमा आद्रता बढ्दा कुखुरामा तनाव चुलिन्छ, रोग लाग्ने सम्भावना पनि धेरै हुन्छ, जसले उत्पादन घटाउँछ,” उनले भने ।
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार माग उच्च भएको र उत्पादन घटेकाले बजार आपूर्ति धान्न गाह्रो भइरहेको छ । संघले आजदेखि लागू हुने गरी समर्थन मूल्य तोकेको छ ।
चितवनको फार्म मूल्य अनुसार ठूलो अण्डाको मूल्य प्रति क्रेट रु ४८० र मझौला अण्डाको मूल्य रु ४५० कायम गरिएको छ । दुबैमा रु ३० का दरले मूल्य वृद्धि भएको हो ।
चार महिनाअघि दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकोमा हाल २८–३० हजारमा सीमित भएको संघले जनाएको छ ।
पोखरेलका अनुसार गर्मीसँगै दाना महँगिएको छ र अण्डाको मूल्य घट्दा किसानले घाटा व्यहोर्नु परेपछि धेरैले माउ कुखुरा बिक्री गरे । नयाँ चल्ला राख्न नसक्दा उत्पादन थप घटेको हो ।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, भरतपुरका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवन र आसपासका जिल्लाबाट ल्याइएका नमूनामध्ये ५० फार्ममा एच–९ (H9) भाइरसको संक्रमण देखिएको छ ।
यसका साथै गम्बारो र साल्मोनेला जस्ता रोग पनि देखिएको बताइएको छ, जसले थप उत्पादनमा गिरावट ल्याएको हो । वर्षायाममा चर्को गर्मीसँगै ढुसीजन्य आहार खाँदा कुखुरामा रोग फैलिने सम्भावना उच्च हुने श्रेष्ठले बताएका छन् ।
नेपालमा अण्डाको लागत मूल्य प्रतिगोटा औसत रु १६.५६ रहेको छ ।