नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसको नेतृत्वमा प्राप्त भएका राजनीतिक उपलब्धिहरू जनताको माझ प्रभावकारी रूपमा पुर्याउन नसकेको स्वीकार गरेका छन् ।
शुक्रबारदेखि वीरगञ्जमा सुरु भएको मधेस प्रदेशस्तरीय दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले पार्टीले विगतमा गरेका ऐतिहासिक काम र सरकारको उपलब्धि जनतासमक्ष पुर्याउन चुकेको बताए । “देश र जनताका लागि कांग्रेसले गरेका कामबारे जनताले थाहा नपाउने हो भने त्यो हाम्रो कमजोरी हो,” उनले भने, “त्यसैले अब कांग्रेस कार्यकर्ताहरू जनमाझ अभियानकर्मी भएर जानुपर्छ ।”
खड्काले कांग्रेसकै कारण मुलुकमा प्रजातन्त्र, बहुदल, लोकतन्त्र र संघीयता स्थापनाको ऐतिहासिक उपलब्धि सम्भव भएको स्मरण गराउँदै भने, “राणालाई ढालेर प्रजातन्त्र आयो, पञ्चायत हटाएर बहुदल आयो, राजतन्त्र अन्त्य गरेर लोकतन्त्र आयो, अनि संविधान जारी भएर संघीयता र समावेशिता लागू भयो—यी सबै कांग्रेसकै योगदान हुन्, तर जनतालाई त्यसबारे सुसूचित गर्न हामी चुकेका हौं ।”
उनले पार्टीका विचार, नीति र सिद्धान्तहरू जनतासमक्ष प्रभावकारी रूपमा पुर्याउन प्रशिक्षक प्रशिक्षण कार्यक्रममार्फत कार्यकर्तालाई तयार पार्न लागिएको बताए । कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रमेश रिजाल, कानुन मन्त्री अजय चौरसिया, केन्द्रिय सदस्यहरू नैनसिंह महर र अनिल रुंगटा, मधेस प्रदेशका कृषिमन्त्री जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायत नेताहरूले पनि सम्बोधन गरेका थिए ।
मधेस प्रदेश कांग्रेस कार्यसमितिको व्यवस्थापनमा केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको दुई दिने कार्यक्रममा प्रदेशभरिका अगुवा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको छ । सहभागी कार्यकर्ताहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्र, पालिका र वडामा पुगेर कांग्रेसको योगदानबारे जनतालाई जानकारी गराउन निर्देशन दिइएको छ ।