प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)लाई कसैले टुक्र्याउन नसक्ने चेतावनी दिएका छन् । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित 'जबजका तीन दशक' कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकढिक्का रहेको र त्यसलाई धुलो पार्न कसैको सक्ने कुरा नभएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, "नेकपा (एमाले) सफलताका साथ अगाडि बढिरहेको छ । विगतमा विभिन्न नाममा पार्टी फुटाइएको थियो, तर हाम्रो पार्टी फेरि मजबुतीका साथ अगाडि बढेको छ। एमाले कसैले धुलो पार्न सक्ने शक्ति होइन ।"
उनले पार्टीले सुरु गरेको मिसन–८४ लाई सफल बनाउन सबै कार्यकर्तालाई आह्वान गर्दै एमाले माक्र्सवादी चिन्तन र बहुदलीय जनवाद (जबज)लाई आत्मसात् गरेकोले अझ बलियो बनेको बताए ।
प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीले नेपालको राजनीतिक विकासक्रममा पुर्याएको योगदान ऐतिहासिक रहेको उल्लेख गरे । "जतिबेला विश्वभर समाजवादी आन्दोलनमाथि संकट थियो, त्यतिबेला मदन भण्डारीको नेतृत्वमा नेकपा (एमाले)ले नयाँ विचार अगाडि सारेको थियो," उनले भने ।
उनले थपे, "पार्टीलाई समयानुकूल दिशा दिने काम मदन भण्डारीले गर्नुभयो । हामीले पछिल्ला तीन दशकमा जबजका सिद्धान्तलाई कार्यान्वयन गर्दै आएका छौँ ।"
ओलीले जबजको विचार एमालेको चौथो महाधिवेशनबाट आधारित भएर पाँचौँ महाधिवेशनमा औपचारिक रूपले सूत्रीकृत गरिएको जानकारी दिए । उनले भने, “एमालेको चौथो महाधिवेशनले दुई महत्वपूर्ण निर्णय गर्यो — जबजको बाटो अँगाल्ने र मदन भण्डारीलाई महासचिव बनाउने ।”
प्रधानमन्त्री ओलीले चौथो महाधिवेशनको नीति नै पञ्चायती व्यवस्था अन्त्यको मूल आधार बनेको बताए। "त्यो नीतिले वाममोर्चा निर्माण गर्यो, कांग्रेससँग सहकार्य भयो र छ महिनामै निरंकुश राजतन्त्र संवैधानिक बन्यो," उनले स्मरण गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले आजै स्पेनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्न लागेको जानकारी पनि दिए। उनले स्पेनबाट फर्किएपछि हुम्ला सदरमुकाम सिमकोट जोड्ने सडक सञ्जाल उद्घाटन गर्ने घोषणा गरे ।
"अब हुम्लाको सदरमुकामसम्म मोटर चढेर जान सकिन्छ," उनले भने, "नेपालका कुनै पनि सदरमुकाम अब दुर्गम रहँदैनन् ।"
प्रधानमन्त्री ओलीले महाकाली सन्धीप्रति एमाले अझै पनि प्रतिबद्ध रहेको बताए । उनले सम्झौताअनुसार नेपालले विजुली र पानी लिइरहेको उल्लेख गर्दै थप पानी दोधारा–चाँदनीबाट ल्याउने तयारी रहेको जानकारी दिए ।