महोत्तरी जिल्लामा मानसिक समस्या देखिएकी एक किशोरीलाई झारफुकको नाउँमा चरम शारीरिक यातना दिइएको घटना सार्वजनिक भएको छ ।
मनरासिस्वा नगरपालिका–३ सोनौल बस्ने बाला पासवानकी १७ वर्षीया छोरी सपना कुमारी पासवानलाई झारफुक गर्ने क्रममा गम्भीर चोट लागेपछि हाल जनकपुरस्थित न्युरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ ।
पीडितकी आमा विनिता पासवानका अनुसार एक साता अगाडि गाउँमै केही महिलामा ‘भूत खेल्ने’ गतिविधि देखेपछि हेर्न गएकी छोरी फर्किएपछि मानसिक अशान्ति र टाउको दुख्ने समस्या देखिएको थियो । प्रारम्भिक घरेलु उपचारले काम नगरेपछि गाउँलेको सुझावमा उनी छोरीलाई सम्सी गाउँपालिकाको पोखरभिण्डा निवासी झाँक्री प्रभु यादवकहाँ लगेको बताइन् ।
उनको आरोप अनुसार झारफुकको नाममा यादवले पीडितलाई पटक–पटक कपाल समातेर भुइँमा पछार्ने, आफ्नो टाउकोसँग पीडितको टाउको ठोक्काउने, जिब्रो बाहिर निस्किएको भन्दै हाडले जबर्जस्ती भित्र घुसाउने जस्ता हिंसात्मक व्यवहार गरेका थिए । यी कृत्यका कारण पीडित बेहोस भएपछि रातभर झारफुक गरिए पनि अवस्था झन जटिल बनेको थियो । अन्ततः शुक्रवार राति विजलपुराका एक स्वास्थ्यकर्मीमार्फत सामान्य उपचारपछि पीडितलाई जनकपुर ल्याइएको र न्युरो अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालका चिकित्सकका अनुसार पीडितलाई कन्भर्सन डिसअर्डर (सामान्य मानसिक समस्या) देखिएको हो, तर झारफुकका नाममा दिइएको शारीरिक यातनाका कारण टाउको, जिब्रो र घाँटीमा गम्भीर चोट लागेको छ । चिकित्सकका अनुसार उनलाई कम्तीमा एक साता सघन उपचार आवश्यक पर्छ ।
घटनाबारे अस्पताल प्रशासनले प्रहरीलाई जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट टोली घटनास्थल पुगेको छ । इटहर्वा प्रहरी चौकीका सहायक निरीक्षक श्याम विनय बैठाका अनुसार घटनाबारे प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ र पीडित परिवारसँग जानकारी लिने प्रक्रिया अघि बढाइएको छ ।
तराई–मधेश क्षेत्रका ग्रामीण भेगमा शिक्षाको कमी, स्वास्थ्य सेवाको अभाव तथा चेतनाको अभावका कारण अझै पनि मानसिक वा शारीरिक समस्या देखिँदा धामी–झाँक्रीकहाँ लैजाने प्रवृत्तिले गम्भीर दुर्घटनाहरू निम्त्याउने अवस्था कायमै रहेको देखिन्छ ।