अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्याय परिषद् सदस्यसहित ५२ जना संवैधानिक आयोग तथा निकायका पदाधिकारीहरूको नियुक्ति खारेजीको मागसहित दायर मुद्दाको फैसला आज सर्वोच्च अदालतबाट हुने भएको छ ।
यसअघि जेठ २८ गतेका लागि फैसलाको मिति तय गरिए पनि संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूबीच मतभेद देखिएपछि निर्णय स्थगित गरिएको थियो ।
आज पुनः संवैधानिक इजलासले सो संवेदनशील मुद्दामा अन्तिम निर्णय सुनाउने तयारी गरेको हो । करिब पाँच वर्षअघि गरिएको नियुक्तिविरुद्ध दायर मुद्दा अहिले अन्तिम चरणमा पुगेको छ । यस अवधिमा १३ संवैधानिक आयोगमध्ये ६ आयोगका प्रमुख पद खाली भइसकेका छन् भने धेरै सदस्यहरू उमेर हद र अन्य विविध कारणले अवकाशमा गइसकेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले यो मुद्दामा अन्तिम सुनुवाइ जेठ २ गते सम्पन्न गरेको थियो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित इजलासले मुद्दालाई माघ ३० गतेदेखि ‘हेर्दा हेर्दै’ मा राख्दै निरन्तर सुनुवाइ गर्दै आएको थियो ।
उक्त मुद्दा प्रारम्भमा प्राथमिकतामा नपरे पनि पछिल्लो समय संवैधानिक र कानुनी दृष्टिकोणले अत्यन्त गम्भीर ठानिँदै उच्च प्राथमिकताका साथ सुनुवाइ गरिएको हो ।
भिडियाे सामाग्री