नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको औपचारिक रूपमा जनाएको छ ।
बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले अनुशासन आयोगमार्फत झाँक्रीलाई स्पष्टीकरण सोधिएको जानकारी दिएका हुन्।उपाध्यक्ष खतिवडाका अनुसार झाँक्रीका पछिल्ला अभिव्यक्तिको विषयमा अनुशासन आयोगले निश्चित समय तोकेर स्पष्टीकरण मागेको र उक्त समयसीमाभित्र जवाफ आउने विश्वास व्यक्त गरेका छन् । तर, बिहीबार नै पार्टी कार्यालयमा उपस्थित भएकी झाँक्रीले आफूलाई सोधिएको स्पष्टीकरणको विषयलाई निराधार बताउँदै प्रतिक्रिया दिएकी थिइन् ।
पार्टी सचिवालयको बैठकमा पतञ्जली प्रकरणमा अध्यक्ष माधवकुमार नेपालमाथिको विषय, पछिल्लो राजनीतिक अवस्था तथा पार्टीका आन्तरिक विषयमा समेत छलफल भएको उपाध्यक्ष खतिवडाले जानकारी दिएका छन् । बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, र स्थायी कमिटी सदस्य राजेन्द्र राईले धारणा राखेका थिए ।
बैठकमा केही नेताहरूको स्वास्थ्य अवस्था कमजोर भएकाले बैठक केहि समयपछि स्थगित गरिएको र आगामी असार २२ गते पुनः बस्ने जानकारी पनि खतिवडाले दिएका छन् ।