धनुषाको नेपाल–भारत सीमाक्षेत्रमा सशस्त्र प्रहरी बल र तस्कर समूहबीच भीडन्त हुँदा ६ जना प्रहरी घाइते भएका छन् । घटनास्थल विदेह नगरपालिका–२, वैदेही दुहबीस्थित दशगजा नजिक बिहीबार साँझ करिब ७ बजे झडप भएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार करिब ३० जना प्रहरीको टोलीले तस्करीको सामान आँपको बगैँचामा राखिएको सूचना पाएपछि छापा मारेको थियो । प्रहरीले पुगेलगत्तै करिब एक सयभन्दा बढी तस्करहरू घरेलु हतियार, भाटा र ढुंगामुढासहित प्रहरीमाथि आक्रमणमा उत्रिएका थिए ।
अवस्था नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको एसपी खड्काले जानकारी दिए । भीडन्तमा घाइते भएका सशस्त्र प्रहरीहरूलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकोप्रति सुरक्षा निकायहरू सतर्क बनेका छन् ।