आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपालका कानुन व्यवहारमा लागू हुने, वस्तुगत र मुलुकको अवस्था सुहाउँदो बनाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको शुक्रबार बसेको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले सो धारणा राखेका हुन् ।सांसद साहले भने, “कानुन बनाउँदा उड्ने होइन, धर्तीलाई सुहाउँदो हुनुपर्छ । वस्तुवादी हुनुपर्छ। सबैले स्वीकार्ने किसिमको हुनुपर्छ ।” उनले संविधानमा उल्लेखित ३१ वटा मौलिक हकमध्ये एकको पनि प्रभावकारी कार्यान्वयन नभएको भन्दै त्यसप्रति समिति तथा सांसदहरू गम्भीर हुनुपर्ने बताए ।
उनले थपे, “हाम्रो संविधानमा दुनियाँमै नभएका मौलिक हक उल्लेखित छन्, तर कार्यान्वयन शून्य छ । हामीले यही यथार्थलाई ध्यानमा राखेर व्यवहारिक सोचअनुसार कानुन बनाउनु पर्छ।”साहले संसदीय समितिका बैठकहरू नियमित कार्यतालिका बनाएर सञ्चालन गर्नुपर्ने मागसमेत बैठकमा राखेका थिए ।