नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रमुख कम्युनिष्ट दल नेकपा (एमाले) गहिरो संकटमा रहेको टिप्पणी गर्नुभएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले एमालेभित्र अन्तरविरोध गहिरिँदै गएको र पार्टी भविष्यको विषयमा सहजै केही भन्न नसकिने अवस्था सिर्जना भएको बताउनुभयो ।
“कुभलो चिताउने, कुभलो गर्ने, अनुचित काम गर्ने, व्यक्तिवादको शिकार हुने, निम्न पुँजीवादी प्रवृत्ति मात्रै नभई दक्षिणपन्थी अवसरवादमा चुर्लुम्म डुब्ने प्रवृत्तिहरू एमालेभित्र हावी छन्,” उहाँले भन्नुभयो, “यस्ता प्रवृत्तिलाई परास्त गर्नु अहिलेको कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती हो ।”
अध्यक्ष नेपालले अझै पनि कम्युनिष्ट शक्तिको भविष्य रहेको उल्लेख गर्दै सही मार्गमा अघि बढ्न सक्ने हो भने जनताको विश्वास फिर्ता गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।