अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको अर्थ समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकबारे छिटो निष्कर्षमा पुग्न आग्रह गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले छिटो निर्णय लिनुपर्ने भनेपनि पर्याप्त र गम्भीर छलफलबिना विधेयक पारित नगर्नु पर्नेमा जोड दिनुभयो । उहाँले भने, “छलफल नगरी हतारमा विधेयक पारित गरियोस् भन्ने मेरो आशय होइन। तर लामो समय अल्झिएर ढिलासुस्ती हुनु पनि ठीक होइन ।”
अर्थ मन्त्रालय र राष्ट्र बैंकबाट समितिलाई आवश्यक पर्ने सबै जानकारी र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै उनले बाफिया विधेयकलाई प्रभावकारी बनाउन सबै पक्षको सुझावलाई समेट्नुपर्ने बताए ।मन्त्री पौडेलले ‘उल्लेख्य स्वामित्व भएका व्यक्तिहरूले ऋण लिन नपाउने’ भन्ने प्रस्तावबारे पनि विशेष छलफल आवश्यक रहेको बताए । त्यस विषयमा प्राविधिक र नीतिगत दृष्टिकोणबाट निर्णय लिनुपर्ने उनको भनाइ थियो ।
त्यसैगरी उनले बैंकिङ प्रणालीको डिजिटल रूपान्तरण अपरिहार्य रहेको धारणा राख्दै, बाफिया संशोधनमार्फत डिजिटल प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताए।