खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रालिद्वारा उत्पादन गरिएको ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ ।
शुक्रबार सार्वजनिक गरिएको सूचनामार्फत विभागले अनुगमनका क्रममा संकलन गरिएको उक्त चाउचाउको नमुना परीक्षण गर्दा न्यून गुणस्तर भेटिएको जनाएको हो। नमुना राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा परीक्षण गरिएको थियो ।
ब्याच नम्बर १७२.यू२ रहेको, २०२४ सेप्टेम्बरमा उत्पादन भएको चाउचाउमा गुणस्तरको कमी भेटिएको हुँदा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम बिक्री तथा वितरण रोक्का गरिएको विभागले स्पष्ट पारेको छ ।
विभागले सो ब्याचमा उत्पादन भएका सम्पूर्ण चाउचाउ बजारबाट तुरुन्त फिर्ता गर्न उद्योग तथा उसका प्रतिनिधिहरूलाई निर्देशन दिएको छ । साथै, बजारबाट फिर्ता गरिएको विवरण विभागमा पेश गर्न पनि उद्योगलाई आदेश दिइएको छ ।
उक्त ब्याचका चाउचाउ उपभोग नगर्न र नगराउन उपभोक्तासहित सबै सम्बन्धित पक्षलाई विभागले आग्रह गरेको छ ।