नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको नवनिर्मित कार्यालयको जनकपुरधामस्थित भानुचोकमा शुक्रबार भव्य उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सञ्चारकर्मीहरू तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमको प्रमुख अतिथि भंगहा नगरपालिकाका मेयर सञ्जीव साह थिए । उनले कार्यालयको रिबन काटेर उद्घाटन गर्दै पत्रकारिता क्षेत्रको विकास र प्रेस स्वतन्त्रताको सुदृढीकरणका लागि जनप्रतिनिधिहरूले आवश्यक सहयोग गर्नु पर्ने कुरामा जोड दिए। उनले देशको हरेक राजनीतिक र सामाजिक परिवर्तनमा पत्रकारहरूको अतुलनीय योगदान रहेको पनि स्मरण गराए ।
समारोहमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष श्याम बञ्जारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, उपाध्यक्ष अम्बिका दहाल, सदस्य साजिर मन्सूर लगायतका पदाधिकारीहरूले सहभागिता जनाएका थिए। अध्यक्ष बञ्जाराले नयाँ कार्यालय मधेश प्रदेशको पत्रकारिता सुदृढीकरणका लागि महत्वपूर्ण मील का पत्थर बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दहाल, वरिष्ठ पत्रकार रामभरत साह, नेपाल प्रहरीका डीआईजी उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकाल, महासंघका सल्लाहकार राजेश कर्ण, केन्द्रीय सदस्यहरू सिकेन्द्र पासवान र राजु विश्वकर्मा, धनुषा अध्यक्ष पुरन गुप्ता, सप्तरी अध्यक्ष श्रवणकुमार देव, बारा अध्यक्ष रमेश सुवेदी, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झा, प्रेस युनियन मधेश प्रदेश अध्यक्ष सत्यप्रकाश श्रेष्ठ लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
नवनिर्मित कार्यालयबाट आगामी दिनमा पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम, सूचना प्रवाह, पत्रकार हितमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिइएको थियो । कार्यक्रममा प्रदेश सदस्य साजिर मन्सूरले उपस्थित अतिथिहरूलाई फूलमाला तथा खादा लगाएर स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ले गरेका थिए । उपाध्यक्ष अम्बिका दहालले स्वागत मन्तव्य दिएकी थिइन् ।