बारा प्रहरीले अवैध रूपमा भन्सार छली गरेर ल्याइएका एक करोडभन्दा बढी मूल्य बराबरका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगंजबाट काठमाडौँ तर्फ गइरहेको ना ८ ख ७२४२ नम्बरको डिब्बा ट्रकलाई अमलेखगञ्जस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रहरी निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले ट्रकलाई शङ्कास्पद ठानी रोकेर जाँच गर्दा बिल-बिजकमा उल्लेख नभएका तथा भन्सार नकटाई ल्याइएका विभिन्न प्रकारका सामग्रीहरू फेला पारेको हो ।
करिब डेढ करोडको अवैध सामान
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सामानहरूमा महँगा कस्मेटिक सामग्री, कोकोनट र बदाम, विभिन्न प्रकारका रेडिमेड तथा फ्यान्सी कपडाहरू, सर्किजल उपकरण, मोबाइलका पाटपुर्जा, औषधिजन्य वस्तुहरू तथा अन्य इलेक्ट्रोनिक सामग्रीहरू रहेका छन् । यी सामग्रीहरूको प्रारम्भिक मूल्यांकन अनुसार कुल मूल्य करिब रु. १ करोड २५ लाख २४ हजार १० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ ।
राजश्व अनुसन्धान कार्यालयमा बुझाइयो
बरामद गरिएको ट्रक तथा त्यसमा लोड गरिएका सम्पूर्ण सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गर्न राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको प्रहरी स्रोतले जनाएको छ । साथै, ट्रकका चालक र सम्बन्धित पक्षहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा यी सामानहरू वीरगंज नाका हुँदै भारतबाट तस्करी गरिएको शङ्का गरिएको छ ।
नियमविपरीतको व्यापारमाथि कडाइ
हाल सीमावर्ती क्षेत्रमा सक्रिय तस्कर समूहहरूलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गस्ती र निगरानी कडा बनाएको छ ।
प्रहरी निरीक्षक धनप्रसाद श्रेष्ठका अनुसार— "भन्सार राजस्व छली गरी आउने कुनै पनि गतिविधि सह्य नहुने बताउँदै यस्ता गिरोहमाथि थप अनुसन्धान भइरहेको" जानकारी दिए । यसअघि पनि बारामा विभिन्न समयमा लाखौं मूल्य बराबरका अवैध सामग्रीहरू बरामद हुँदै आएका छन् । यस्ता कार्यहरूले राज्यलाई ठुलो राजस्व नोक्सान पुग्ने भएकाले प्रहरीले नियमित अनुगमनलाई प्राथमिकता दिएको छ ।
भिडियाे सामाग्री