बारा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति जीतपुरसिमरा उपमहानगरपालिका–७ निवासी २० वर्षीय सेराज अंसारी हुन् । उनी लागूऔषध बोकेर कलैया उपमहानगरपालिका–५ भरत चोकस्थित मटिअर्वा जाने बाटोको छेउबाट पक्राउ परेका हुन् ।जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक नन्दकिशोर सिंहको कमाण्डमा खटिएको विशेष टोलीले अंसारीलाई शंका लागेपछि नियन्त्रणमा लिएको थियो । उनलाई बोकेको आँपको क्यारेट जाँच गर्ने क्रममा क्यारेटभित्र नोफिन, फेनारगन र डाइजोपाम गरी जम्मा ४ हजार ५ सय थान प्रतिबन्धित लागूऔषध लुकाइछिपाइ राखिएको फेला परेको हो ।
बरामद लागूऔषध विवरण:
- नोफिन — १५०० थान
- फेनारगन — १५०० थान
- डाइजोपाम — १५०० थान
प्रहरीका अनुसार अंसारीमाथि लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको छ । प्रारम्भिक अनुसन्धानबाट उनी लागूऔषध कारोबारी समूहसँग संलग्न रहेको आशंका गरिएको छ । प्रहरीले स्रोत र गन्तव्यबारे थप तथ्य निकाल्ने प्रयास गरिरहेको जनाएको छ । युवापुस्तामा लागूऔषधको लत र त्यसको कारोबार बढ्दो अवस्थामा रहेकोले प्रहरीले चेकजाँचलाई कडाइ गर्दै आएको छ ।
यसअघि पनि बाराको विभिन्न नाका र चोकबाट ठूलो परिमाणमा लागूऔषधसहित व्यापारीहरू पक्राउ परेका थिए ।