जनमत पार्टीका निलम्बित उपाध्यक्ष दीपक कुमार साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव र नेता वीरेन्द्र साहले आफूहरूलाई लक्षित गरी कालोमोसो छर्की ज्यान मार्ने प्रयास गरिएको भन्दै सोमबार बाराको जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेका छन् ।
उनीहरूले जाहेरीमा जनमत पार्टीकै नेता विकासकुमार सिंह र रामबाबु साहसहित अन्य १०–१२ जना अज्ञात व्यक्तिहरूले योजनाबद्ध रूपमा आक्रमणको प्रयास गरेको उल्लेख गरेका छन् ।
जाहेरीअनुसार, गत असार २९ गते बिहान ११ बजे बाराको महागढिमाई नगरपालिका–३ दहियारमा पीडित नेताहरू चढेको गाडी रोकिएको थियो। त्यसपछि उनीहरूमाथि कालोमोसो छर्किनुका साथै पेट्रोलियम पदार्थ छर्की आगो लगाउने प्रयास गरिएको आरोप लगाइएको छ ।
निलम्बित उपाध्यक्ष दीपक साहले विकासकुमार र रामबाबु पार्टी अध्यक्ष डा. सीके राउतका ‘खास मान्छे’ भएको दाबी गर्दै हमला डा. राउतकै निर्देशनमा गरिएको आरोप लगाएका छन्। जाहेरीपत्रमा भनिएको छ,
‘हामी र डा. सीके राउतबीचको व्यक्तिगत रिसइबीको आधारमा घटनामा संलग्नहरूद्वारा गाडीको सिसा खोल्न लगाई पेट्रोल छर्की आगो लगाउने प्रयास गरिएको थियो। सलाई र लाइटर समेत तयारी अवस्थामा थियो। तर, गाडी स्टार्ट गरी भागेका कारण ज्यान जोगिएको हो ।’
पीडितहरूले यो हमला पूर्व नियोजित र राजनीतिक प्रतिशोध स्वरूप गरिएको भन्दै आफूहरू पार्टीको प्रभावशाली जिम्मेवारीमा रहेकै कारण लक्षित आक्रमण भएको बताएका छन् ।
यस घटनाले जनमत पार्टीभित्रको आन्तरिक कलह सतहमा ल्याएको छ। जाहेरीमा उल्लेख छ कि पार्टी अध्यक्ष डा. सीके राउतले फेसबुकमार्फत धम्की दिएको भोलिपल्टै हमला भएको हो। हाल पार्टीभित्रैबाट समेत यस घटनाको विरोध भइरहेको छ ।