धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ अर्जनुवाटोलका एक युवक मृत अवस्थामा फेला परेका छन् ।
मृत्यु हुनेमा २५ वर्षीय निरज सहनी रहेका छन् । उनी चुल्हाई सहनीका छोरा हुन् । जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत लक्ष्मीनिया गाउँपालिका–१ स्थित खाद्य संस्थानको अगाडि रहेको नालामा बुधबार दिउँसो घोप्टो परेको अवस्थामा उनको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिएका छन् ।
डिएसपी सिंहका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ र आवश्यक अनुसन्धान सुरु गरिएको छ । शव नजिकै कालो रंगको झोला पनि फेला परेको प्रहरीले जनाएको छ ।
परिवारका अनुसार निरज मंगलबार साँझ आफन्तसँग बाहिर निस्किएका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका थिए ।
प्रहरीले मृत्युको कारण खुलाउन पोष्टमार्टम लगायतका अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।