आवधिक आर्थिक वर्षको अन्तिम दिनमा सामाजिक अभियन्ता तथा नवप्रवर्तन प्रतिष्ठानका अध्यक्ष महावीर पुनले झापा जिल्लाबाट किताब बिक्रीमार्फत ४३ लाख ५० हजार रुपैयाँ संकलन गरिएको बताएका छन् । किताब बेचेर आएको नगद र केही चेकहरू सहित रकम जम्मा गरिएको जानकारी दिँदै पुनले सामाजिक सञ्जालमार्फत राज्यप्रणालीप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
"जिन्दगीमा पैसा कमाउन त रमाइलो हुँदो रहेछ," भन्दै उनले सरकारी वैज्ञानिक र इञ्जीनियरहरूलाई कटाक्ष गरेका छन्। फेसबुकमार्फत उनले लेखेका छन् —
"झापाको कमल गाउँपालिकादेखि शिवसताक्षी नगरपालिकासम्म किताब बेचेर आएको ४३ लाख ५० हजार रुपैयाँ नगद र केही चेकहरू जम्मा गरियो । साला, जिन्दगीमा पैसा कमाउन त बडो रमाइलो पो हुँदो रहेछ हाउ। नेपाल सरकार, नेपालका सक्कली वैज्ञानिकहरू र सक्कली इञ्जीनियरले म जस्तो मूर्ख मनुवालाई नक्कली वैज्ञानिक र कबाडी इञ्जीनियर बन्ने मौका दिएकोमा धेरै धन्यवाद छ ।"
राज्यप्रणालीमाथि व्यङ्ग्य
पुनको यो भनाइ नेपाल सरकार, त्यसका वैज्ञानिक तथा प्रविधिक संरचना र औपचारिक प्रणालीप्रति असन्तुष्टिपूर्ण व्यङ्ग्य हो । उनी लामो समयदेखि सरकारी अवरोध, सहयोगको अभाव र नवप्रवर्तनमाथि हुने उदासीनताको विरोध गर्दै आएका छन् ।उनले आफ्ना परियोजनाहरूका लागि राज्यबाट अपेक्षित सहयोग नपाएको भन्दै पटक–पटक सामाजिक सञ्जालमा गुनासो व्यक्त गर्दै आएका छन् । यसअघि पनि उनले विज्ञान तथा प्रविधिमा निजी र सामुदायिक पहलले मात्र अघि बढ्नु परेको अवस्थाप्रति आलोचना गरेका थिए ।
जनसहभागिता र प्रेरणादायक पहल
महावीर पुनले नवप्रवर्तन केन्द्र स्थापना, ग्रामीण विद्युतीकरण, ग्रामीण पर्यटन र स्थानीय स्रोत उपयोग गर्ने विविध परियोजनाहरूमा जनसहभागिता र किताब बिक्री जस्ता माध्यमबाट रकम संकलन गर्दै आएका छन् । उनका अनुसार, सरकारी उपेक्षाका बाबजुद जनताको साथ र मिहिनेतले काम अगाडि बढेको हो ।
उनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा धेरैले समर्थन गरेका छन् भने केहीले पुनलाई सरकारी संयन्त्रप्रति कठोर बन्न नहुने सुझाव पनि दिएका छन् ।