सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित लखनदेही पुल नजिक धानको भुस लोड गर्ने क्रममा ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा रौतहट जिल्लाको बृन्दावन नगरपालिका–७ निवासी ३० वर्षीय दिनेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । करेण्ट लागेर सोही ठाउँका २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएका छन् ।
घटना बिहीबार बिहान करिब पौने ७ बजे भएको हो । रौतहटबाट सर्लाहीको लालबन्दीस्थित न्यूँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रक भुस लोड गर्ने क्रममा ट्रकको माथिल्लो भाग ११ हजार भोल्ट क्षमताको विद्युत् तारमा छोइएपछि करेन्ट प्रवाह भएको थियो ।
करेन्ट लाग्दा तीनै जना गम्भीर घाइते भएका थिए । इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले तत्कालै उद्धार गरी घाइतेहरूलाई नमुना अस्पताल, हरिवन पठाएको थियो । अस्पतालमा उपचारका क्रममा ट्रकका सहचालक दिनेश पासवानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अन्य दुई घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।