नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीभित्र रहेको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सर्त हटाउने प्रस्ताव पारित गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार राति बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले दोस्रो विधान महाधिवेशनका लागि पेश गर्नुभएको विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिइएको छ। पार्टी विधान २०७८ को धारा ६४ मा रहेको उमेर सीमा र कार्यकाल सम्बन्धी प्रावधान हटाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उक्त संशोधन प्रस्ताव आज (साउन ४) बिहान ११ बजे बस्ने पोलिटब्युरो बैठकमा पेश गरिने छ । त्यसपछि प्रस्ताव केन्द्रीय कमिटीमा लगिने तयारी गरिएको छ। बैठकले १५ जना पदाधिकारीसहित ८४ सदस्यीय पोलिटब्युरो र २५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय पनि गरेको छ ।
पार्टीभित्र दुई किसिमका सदस्यता रहने व्यवस्था प्रस्ताव गरिएको छ — एउटा ‘सदस्य’ र अर्को ‘सङ्गठित सदस्य’ ।
पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन ५ गते बस्ने तय भएको छ भने आगामी भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनले उक्त संशोधन प्रस्ताव पारित गरेपछि मात्र नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ ।