काठमाडौं महानगरपालिका–२८ स्थित ज्याठाको एक होटलबाट दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरीको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति छापा मार्दै एक पुरुष र एक महिलालाई सुनसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीनको सियाचिन घर भई हाल ज्याठामा बस्दै आएका ४६ वर्षीय छुनलुङ थान र ३४ वर्षीया सुमेइ चोउ रहेका छन् ।
उनीहरूको साथबाट दुई किलो सुनसहित २४ लाख रुपैयाँ नगद पनि बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए । “सुन कसरी ल्याए भनेर उनीहरूले बोल्न मानेका छैनन्, अनुसन्धान भइरहेको छ,” बस्नेतले भने ।
प्रहरीका अनुसार थान डेढ महिनाअघि काठमाडौं आएका थिए भने उनकी प्रेमिका केही दिनअघि मात्रै नेपाल आइपुगेकी थिइन् । उनीहरू प्रेम सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बरामद गरिएको सुनको मंगलबार बिहान परीक्षण गरिएको थियो र त्यसमा सुन शुद्ध रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि पक्राउ परेका दुवैजनालाई राजश्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको बताइएको छ ।
यस घटनाले विदेशी नागरिकहरू सुन तस्करीका लागि नेपाललाई मार्ग बनाउँदै आएको आशंका थप बलियो बनाएको छ ।