सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले आजको बैठकमा ‘राष्ट्रियसभाबाट उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छ ।
संसदीय समितिहरूको बैठक पनि आजै
आजै तीन वटा संसदीय समितिको बैठक पनि बस्ने कार्यक्रम रहेको छ । सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
सार्वजनिक लेखा समितिको बैठकमा ‘जगदुल्ला जलविद्युत् आयोजना निर्माणसम्बन्धी उजुरी’ उपर छलफल हुनेछ । साथै, नेपाल सरकारका सचिवहरूसँग संयुक्त बैठकको मिति निर्धारणसम्बन्धी प्रस्ताव पनि समितिमा प्रस्तुत हुने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ माथि दफावार छलफल गरिनेछ ।
त्यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन अवस्था, समस्याहरू, समाधान प्रयास र समितिसँगको अपेक्षा विषयमा विस्तृत छलफल गरिनेछ ।