काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किन नहुने धारणा व्यक्त गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खतिवडाले राष्ट्रको सर्वोच्च पदमा पुगिसकेको व्यक्तिले फेरि राजनीतिक सक्रियता देखाउनु अनुचित हुने बताए ।
“अहिले सर्वोच्च पदमा पुगेका मान्छेहरू आफ्नो गरिमा छोडेर वडा अध्यक्षतिर ध्यान दिएको देखिन्छ,” उनले भने, “सरकारको ध्यान जाओस्। सर्वोच्च पदमा पुगेको मान्छे फेरि वडा अध्यक्ष हुनु हुँदैन ।”
सांसद खतिवडाले खानेपानी मन्त्री प्रदीप यादव विगत एक महिनादेखि हराएको भन्दै कटाक्षसमेत गरे ।
मधेसमा खानेपानीको हाहाकार भएको बेला मन्त्री जिम्मेवार देखिन नसकेको आरोप लगाउँदै उनले भने, “मधेसमा गाग्री लिएर सडकमा आउनुपर्ने अवस्था छ। संघीय संसद् र मन्त्रालय भएको देशमा एक महिनादेखि मन्त्री हराएको सूचना छ ।”
खतिवडाले खानेपानी मन्त्रीलाई संसदमा उपस्थित गराएर मधेसको समस्याबारे जानकारी गराउन सभामुखसमक्ष रुलिङको माग समेत गरे ।