काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा एमाले नेतृ विद्यादेवी भण्डारीले आफूलाई पार्टी सदस्यताबाट रोक लगाउन नमिल्ने स्पष्ट पारेकी छिन् ।
नेकपा एमाले केन्द्रीय कमिटीको निर्णयले भण्डारीको पार्टी सदस्यता नवीकरण रोक्ने र सक्रिय राजनीतिमा आउन नपाउने निर्णय गरेपछि उनले पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा प्रतिक्रिया दिएकी हुन् ।
भण्डारीले भनिन्, “म राष्ट्रपति हुँदा नै पार्टी सदस्यता लिएको ३५ वर्ष भइसकेको थियो, अहिले ४५ वर्ष पुगिसकेको छ । यति हुँदाहुँदै मलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न कदापि मिल्दैन ।”
एमालेको निर्णयप्रति असहमति जनाउँदै भण्डारीले उक्त निर्णय वैध र परिपक्व नहुने दाबी गरिन् । “यस्ता निर्णयले पार्टीको साख र प्रतिष्ठा घटाउँछ,” उनले भनिन्, “आवेग र उत्तेजनाका भरमा गरिएका निर्णयले सत्यलाई अस्थायी रूपमा ढाक्न सकिए पनि वास्तविकतालाई छोप्न सकिँदैन ।”
उनले पार्टी निर्माणमा आफू र हजारौं कार्यकर्ताको योगदान रहेको स्मरण गर्दै भनिन्, “यो कुरा म कुनै भावनामा बगेर भनेकी होइन । यो पार्टी बनाउन हजारौंले रगत पसिना बगाएका छन् ।”
भण्डारीले जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त विपरीत निर्णय गरिएको बताउँदै छलफल र विवेकसम्मत प्रक्रियामार्फत मात्र यस्ता कदम चालिनुपर्ने धारणा राखिन् ।