सिरहाको लहानमा स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
लहान नगरपालिका–३ स्थित अस्पताल चोकबाट सशस्त्र प्रहरीले १० लाख १ हजार ६९५ रुपैयाँसहित भारतको मधुवनी जिल्लाको लौकाहा बजार निवासी राहुल कुमारलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल सिरहाका अनुसार इनरुवाबाट लहानतर्फ आउँदै गरेको यात्रुबाहक बसमा सवार कुमारलाई चेकजाँचका क्रममा पक्राउ गरिएको हो । प्रारम्भिक अनुसन्धानमा उक्त नगद रकमको कुनै वैधानिक स्रोत खुल्न नसकेपछि उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।