काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध तीन विवादास्पद भ्रष्टाचार प्रकरणमा छानबिनको माग गर्दै अख्तियारमै उजुरी दर्ता गरिएको छ ।
सिन्धुली कमलामाईका युवराज पौडेलले प्रमुख आयुक्त राईमाथि अनुसन्धानको माग गर्दै आइतबार अख्तियारको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराएका हुन्। उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको छ ।
पौडेलले उजुरीमा वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद प्रकरण र नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको भूमिकामाथि प्रश्न उठाउँदै छानबिन गरी हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
गत हप्ता विशेष अदालतले वाइडबडी विमान खरिद सम्बन्धी भ्रष्टाचार मुद्दाको पूर्णपाठमा दोषी पहिचान गर्ने क्रममा केहीलाई मात्र लक्षित गरी अभियोजन गरिएको र मूल निर्णयकर्तामाथि अनुसन्धान नभएको भन्दै आलोचना गरेको थियो। पौडेलले त्यसैलाई आधार बनाएर तत्कालीन सचिव तथा हालका अख्तियार प्रमुख राईमाथि मुद्दा दायर गर्न माग गरेका हुन् ।
नेपाल आयल निगमको जग्गा खरिद काण्डमा पनि आपूर्ति मन्त्रालयको सचिवका रूपमा राई स्वयं निगमको सञ्चालक समिति अध्यक्ष रहेको भन्दै, कार्यकारी निर्देशक गोपाल खड्कामाथि मात्र मुद्दा चलाएर राईलाई उन्मुक्ति दिइएको आरोप उजुरीमा उल्लेख छ ।
यसैगरी, नक्कली भुटानी शरणार्थी प्रकरणमा राईको गाडीमा नगद राखिएको आरोप केही आरोपितहरूले बयानमा दिएको भए पनि प्रहरीले अनुसन्धान नगरेको भन्दै त्यसबारे पनि छानबिन माग गरिएको छ ।
उजुरीकर्ता पौडेलले अख्तियार प्रमुख पदमै बसेर संवेदनशील मुद्दाहरूमा प्रभाव पार्न सक्ने भएकाले निष्पक्ष अनुसन्धानका लागि तत्काल कदम चालिनुपर्ने बताएका छन् ।