पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् ।
रसुवाको उत्तरगया गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा हजारौं भक्तजन स्नानका लागि पुग्ने गर्दछन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगर निवासी सुजन ढकाल र मोरङकै बेलवारी निवासी मनोज न्यौपाने रहेका छन् । दुबै जना तीर्थयात्राका क्रममा गोसाइँकुण्डमा स्नान गर्दै गर्दा बेपत्ता भएका हुन् । प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार तीर्थालुहरू गहिरो ठाउँमा स्नान गर्न कुण्डभित्र पसेका कारण डुबेर बेपत्ता भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीय प्रशासनले तत्काल उद्धार टोली परिचालन गरेको थियो ।
नेपाली सेना, प्रहरी र सशस्त्र बलको टोली परिचालित
बेपत्ता तीर्थालुको खोजीका लागि नेपाली सेना (श्रीनाथ गण), नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली आइतबार नै गोसाइँकुण्ड पठाइएको छ । कठिन भौगोलिक परिस्थिति र उच्च हिमाली क्षेत्र भएकाले खोजी कार्यमा चुनौती देखिएको भए पनि उद्धार टोलीले परिचालन गरिसकेको प्रशासनले जनाएको छ । गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा नेपालका विभिन्न भागहरूबाट हजारौं श्रद्धालु नुहाउन पुग्ने गर्छन् । यस वर्ष पनि मौसममा सुधार आएपछि भक्तजनको उल्लेख्य सहभागिता देखिएको थियो ।
स्थानीय प्रशासनले तीर्थयात्रीहरूलाई सुरक्षा सतर्कता अपनाउन र गहिरो पानीमा नपस्न आग्रह गरेको छ ।
भिडियाे सामाग्री