काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले खडेरीका कारण विद्युत् लोड अत्यधिक बढेपछि सिँचाइका मोटरहरू राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले आइतबार सार्वजनिक गरेको सूचनामा वितरण लाइनको संरचना ओभरलोड भएर न्यून भोल्टेजको समस्या देखिएकाले सिँचाइ मोटरको प्रयोग राति ९ बजेपछि गर्न अनुरोध गरिएको हो ।
निरन्तर वर्षा नहुनुका कारण सिँचाइको आवश्यकता बढेसँगै विद्युत् खपत पनि उच्च भएको प्राधिकरणले जनाएको छ । लोड व्यवस्थापन गर्न लाइन तथा ट्रान्सफर्मर फेर्नुपर्ने बाध्यता रहेको भन्दै केही क्षेत्रमा लाइन अवरुद्धसमेत हुन सक्ने चेतावनी दिइएको छ ।
चितवनमा लोड व्यवस्थापन चुनौती
विशेषगरी चितवनको चनौली वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा अत्यधिक लोडका कारण समस्या देखिएको छ । चनौली ३३/११ के.भी. सबस्टेसनमा नयाँ भरतपुरतर्फ जाने ३३ के.भी. लाइनमा लोडको चाप धेरै भएकाले काम भइरहेको प्राधिकरणले जनाएको छ ।
दीर्घकालीन समाधानको लागि बसेनी १३२ के.भी. सबस्टेसनबाट चनौली सबस्टेसनसम्म नयाँ ३३ के.भी. लाइन निर्माणको काम अन्तिम चरणमा रहेको र उक्त लाइन सञ्चालनमा आएपछि समस्या समाधान हुने विश्वास प्राधिकरणको छ ।
प्राधिकरणले चनौली वितरण केन्द्रअन्तर्गतको समस्या पूर्ण रूपमा प्राविधिक भएको र सो समस्या बुधबारसम्म समाधान हुने दाबी गरेको छ ।
खडेरीले किसानको सिँचाइमा निर्भरता बढायो
तराईका अधिकांश जिल्लामा लामो समयदेखि वर्षा नहुनुका कारण खडेरीको समस्या चुलिँदै गएको छ। धान रोपाइँको समय भए पनि पानी नपरेपछि किसानहरू सिँचाइका मोटरहरू प्रयोग गर्न बाध्य छन् । यसले वितरण प्रणालीमा लोडको चाप बढाएको छ ।
विद्युत् लाइनको संरचनाले अत्यधिक लोड धान्न नसक्ने अवस्था आएपछि प्राधिकरणले विशेषतः बढी विद्युत् खपत गर्ने उपकरणहरू सावधानीपूर्वक र सीमित रूपमा प्रयोग गर्न आग्रह गरेको हो ।
