काठमाडौँ | मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा (अहिराज)लाई जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।
बुधबार भएको थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् ।
साउन ४ गते प्रहरीले अहिराजलाई पक्राउ गरेको थियो। २३ वर्षीया युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो । जाहेरीमा उल्लेखअनुसार २०८१ जेठ ४ गते पूर्वप्रमुख झाले बानेश्वरस्थित डेरामा बोलाएर घाँटी र मुख थिची बलात्कार गरेका थिए ।
पीडित युवतीका अनुसार उनीहरूले एकअर्कालाई १७ वर्षको उमेरमा विराटनगरमा चिनजान गरेका थिए। उनले बलात्कारपछि आफूलाई धम्की दिएको पनि जाहेरीमा उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्, “बलात्कार गरेपछि उहाँले भन्नुभयो– तँ मधेसी परिवारकी छोरी होस्, यो कुरा कसैलाई भनिस् भने तँलाई कसैले बिहे गर्दैन । त्यसपछि बारम्बार उजुरी नगर्न धम्की दिनुभयो ।”
प्रहरीको अनुसन्धानपछि घटनामा संलग्न रहेको आधारमा उनीमाथि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइएको हो ।