सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज (साउन १६ गते) राष्ट्रिय कोदो दिवस मनाउने भएको छ ।
साना किसानको आयआर्जन वृद्धि गर्नुका साथै खाद्य तथा पोषण सुरक्षामा कोदोजस्ता बालीको योगदानलाई महत्त्व दिन दिवस मनाउन लागिएको कृषि विभागले जनाएको छ ।
कोदो दिवस मूल आयोजक समितिको अध्यक्षता कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले गर्दै हुनुहुन्छ। समितिले ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरेको छ ।
महानिर्देशक सञ्जेलका अनुसार कोदो दिवस देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरण गर्न तथा जैविक विविधता संरक्षण गर्दै खाद्य प्रणाली रुपान्तरणमा योगदान पुर्याउने विश्वासका साथ मनाउन थालिएको हो ।
कृषि विभागका तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात गरिएको थियो, जसको मूल्य रु ७६ करोड ६३ लाख ८६ हजार बराबर रहेको छ ।
दिवसको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ कार्यक्रम, कृषक सम्मान, राष्ट्रिय कृषक समूह महासङ्घ र पत्रकारहरुलाई पुरस्कार तथा कदरपत्र वितरणलगायतका कार्यक्रम आयोजना हुनेछन् । साथै प्रदेश र स्थानीय तहहरूबाट पनि विविध कार्यक्रम सञ्चालन गरिने विभागले जनाएको छ ।
महानिर्देशक सञ्जेलले रासायनिक मलखाद तथा विषादीको प्रयोग नगरी वा न्यून प्रयोग गरेर पनि औसत उत्पादन लिन सकिने भएकाले कोदो उत्पादनले हरितगृह ग्यास उत्सर्जन कम गर्न सघाउ पुर्याउने र जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने बताए। विभागले दिवसको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।