नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धले आजदेखि ७० औँ वर्षमा प्रवेश गरेको छ ।
यस ऐतिहासिक अवसरमा आज काठमाडौं र बेइजिङ दुवै स्थानमा विविध कार्यक्रम आयोजना गरी कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव मनाइँदै छ ।
नेपाल–चीन सम्बन्धको जरा प्राचीन इतिहासमा रहेको मानिन्छ । तिब्बतका राजा स्रोङचेन गम्पोसँग लिच्छविकालीन राजकुमारी भृकुटीको विवाहपश्चात अनौपचारिक सम्बन्ध सुरु भएको ऐतिहासिक उल्लेख पाइन्छ । आधुनिक कालमा भने सन् १९५५ अगष्ट १ तारिखमा नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरिएको थियो ।
शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान, भौगोलिक अखण्डता, सम्प्रभुताको आदर र आन्तरिक मामिलामा अहस्तक्षेप लगायतका पञ्चशीलका सिद्धान्तमा आधारित रहँदै आएको नेपाल–चीन सम्बन्ध दुवै मुलुकका लागि प्राथमिकतामा रहँदै आएको छ । नेपालका लागि चीनका पूर्वराजदूत राजेश्वर आचार्यका अनुसार चीनले विश्व राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ । राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्यका रूपमा चीन विधिमा आधारित विश्व शासन प्रणाली, अन्तर्राष्ट्रिय शान्ति र साझा भविष्य निर्माणका पक्षमा रहेको बताउँदै उनले चीनको विकासबाट नेपालले अधिकतम लाभ लिनु आवश्यक रहेको सल्लाह दिएका छन् ।
यसैबीच, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली चीनको ७० औँ कूटनीतिक सम्बन्ध वार्षिकोत्सवको अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन साङद्वारा आज साँझ आयोजना गरिने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
नेपाल–चीन सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ तुल्याउने प्रयासमा दुवै देशका शीर्ष नेतृत्व सक्रिय रहेका छन् ।
वार्षिकोत्सवको अवसरमा नेपाल र चीनबीच सहकार्य, व्यापार, पूर्वाधार तथा आपसी सहयोगका क्षेत्रहरूमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ ।
भिडियाे सामाग्री