निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले सोमबार एक सूचना जारी गर्दै साउन २१ गतेदेखि २७ गतेसम्म आयोगको केन्द्रीय कार्यालय, काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको छ । उपनिर्वाचन आगामी कात्तिक १७ गतेका लागि तोकिएको छ । यसअघि आयोगले उपनिर्वाचनका लागि आवश्यक निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । कार्यतालिका अनुसार असोज २१ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन साँझ उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ भने असोज २४ गते अन्तिम नामावली प्रकाशन गरिनेछ ।
निर्धारित मितिअनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत समानुपातिक प्रणालीको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरूलाई उम्मेदवार बन्न नपाइने स्पष्ट पारेको छ ।
रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पद रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी अघि बढाएको हो ।