रौतहट । रौतहट जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित गरुडा बजारमा सार्वजनिक शौचालयको अभाव गम्भीर समस्या बन्दै गएको छ । यहाँ दैनिक आवतजावत गर्ने सर्वसाधारण, व्यापारी, यात्रु र पर्यटकहरू शौचालयको सुविधा नहुँदा असहज परिस्थितिमा परिरहेका छन् ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा मेयर पदमा निर्वाचित भएका कन्थमणि जैसवालले कार्यभार सम्हालेको एक वर्षभित्र सार्वजनिक शौचालय बनाउने प्रतिबद्धता जनाएका थिए। तर, उनको कार्यकालको तीन वर्ष बितिसक्दा पनि सो समस्या जस्ताको तस्तै छ ।
दर्जनभन्दा बढी बैंक तथा व्यापारिक प्रतिष्ठान सञ्चालनमा रहेको गरुडा बजारमा हप्तामा दुई दिन लाग्ने हाट बजारमा हजारौँ मानिसहरू रौतहटसहित सर्लाही, बारा, पर्सा, मकवानपुर र सीमावर्ती भारतीय गाउँबाट किनमेल तथा व्यापारिक प्रयोजनमा आउने गर्छन् । यति ठूलो भीडभाड हुने बजार क्षेत्रमा शौचालयको सुविधा नहुनु व्यवस्थापकीय असफलता भएको स्थानीयको गुनासो छ ।
स्थानीय समाजसेवी रामभरोस यादवका अनुसार, बजारमा महिला तथा पुरुष दुवैले ठूलो सास्ती भोग्नुपरेको छ । यात्रुहरू स्थानीयको निजी शौचालयमा निर्भर हुन बाध्य छन्, जसले स्वाभिमान र स्वास्थ्य दुवैमा प्रतिकूल असर पारेको छ ।
स्थानीय बासिन्दाहरूले जनप्रतिनिधिहरूले करोडौँ बजेट माटो, ग्राभेल, अस्थायी सडक मर्मतजस्ता कार्यमा खर्च गरे पनि नागरिकको प्रत्यक्ष आवश्यकतालाई बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । उनीहरूले मेयरको प्राथमिकता लाभ हुने ठेक्काका काममा मात्रै केन्द्रित भएको भन्दै आलोचना पनि गरेका छन् ।
सरकारले रौतहट जिल्ला तीन वर्षअघि नै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकेको छ । तर जिल्लाकै प्रमुख बजारमा सार्वजनिक शौचालय नहुनु सरकारको घोषणाको व्यवहारिकतामाथि प्रश्न उठाउने अवस्था सिर्जना भएको स्थानीयको भनाइ छ ।