काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष कायम गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित भएसँगै यो व्यवस्था कानुनी रूपमा लागू भएको हो ।
यसअनुसार, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४ को उपदफा ३ संशोधन गरी लाइसेन्सको बहाल अवधि पूर्ववत ५ वर्षबाट १० वर्ष पुर्याइएको हो ।
संशोधित कानुनी व्यवस्थाअनुसार अब नयाँ लाइसेन्स लिँदा वा नवीकरण गर्दा १० वर्षसम्म मान्य हुने छ। यसअघि नवीकरण गर्दा पनि लाइसेन्सको मान्यता अवधि ५ वर्ष मात्र हुने व्यवस्था थियो ।
नयाँ संशोधनले सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रको हकमा निजी क्षेत्रलाई समेत अनुमति दिने प्रावधान समावेश गरेको छ । यसले यातायात सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउने सरकारको अपेक्षा छ ।