काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषधमुक्त बनाउन सबै निकायको समन्वयमा अझ प्रभावकारी ढङ्गले काम गर्न आवश्यक रहेको बताएका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको निरीक्षणका क्रममा बोल्दै गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन, भण्डारण र प्रयोग मुलुकका लागि ठूलो चुनौतीका रूपमा देखिएको उल्लेख गरे ।
“लागुऔषध प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर अपराध बढाउँछ,” उनले भने, “हामीले एक वर्षअघि सञ्चालन गरेको लागुऔषधविरुद्धको महाअभियान सार्थक बन्यो। यसलाई अझ मजबुत बनाउन आमनागरिकको साथ आवश्यक छ ।”
गृहमन्त्री लेखकले पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणमा उल्लेख्य प्रगति भएको दाबी गर्दै भने,
“स्रोतसाधनको कमीबीच पनि ठूलो काम गर्न सकिएको छ। आगामी दिनमा थप प्रभावकारी ढङ्गले अघि बढ्नुपर्छ ।”
उनले युवाहरूमा लागुऔषधको लत फैलँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने,
“देशको भविष्यसँग जोडिएको युवाशक्ति नै लागुऔषधमा फस्दै गएको छ। यो गम्भीर विषय हो। लागुऔषधविरुद्धको अभियान प्रहरीको मात्रै होइन, सम्पूर्ण नागरिकको साझा जिम्मेवारी हो ।”
गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रण ब्युरोलाई विभागको रुपमा विकास गर्ने तयारी थालिएको जानकारी दिए ।
“ब्युरोलाई विभागका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छु,” उनले भने, “मन्त्रालयबाट आवश्यक सहयोग गरिनेछ ।”
उनले प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापासहित प्रहरी प्रधान कार्यालयलाई तयारी थाल्न निर्देशनसमेत दिए ।
आईजीपी थापाले गृहमन्त्रीको प्रस्तावको सराहना गर्दै नेपाल प्रहरी लामो समयदेखि देशभर लागुऔषध नियन्त्रणमा सक्रिय रहेको बताए ।
कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रमुख एआईजी चन्द्रकुवेर खापुङ, लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालालगायत प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।