सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने न्यूजिल्याण्डका एक नागरिक घाइते भएका छन् ।
आज बिहान ८ः१२ बजे एयर डाइनेस्टीको 9N-AOD कलसाइन भएको हेलिकोप्टर र फिस्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकोप्टर फेरिचे क्षेत्रमा अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा फिस्टेल एयरको हेलिकोप्टरमा सवार दुई विदेशी नागरिकमध्ये भारतीय नागरिकको मृत्यु भएको हो। सोही हेलिकोप्टरमा सवार न्यूजिल्याण्डका नागरिक घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याउने तयारी भइरहेको जनाइएको छ ।
प्राप्त जानकारीअनुसार दुवै हेलिकोप्टर लुक्लाबाट उडान भरेर फेरिचेमा अवतरण गर्ने क्रममा अचानक सम्पर्कविहीन भएका थिए। त्यसलगत्तै फेरिचे क्षेत्रमा दुवै हेलिकोप्टर एकआपसमा ठोक्किएर दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनाको कारण, मानवीय तथा भौतिक क्षतिको थप विवरण आउन बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको जनाइएको छ ।