काठमाडौं | तराई–मधेसमा देखिएको पानी संकट र सिँचाइको अभावका कारण उत्पन्न समस्यालाई लिएर मधेस कृषि–जल आन्दोलन संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीहरूले सुख्खाले गर्दा धान रोपाइँ हुन नसकेको, किसानहरू गम्भीर संकटमा परेको, र तत्काल राहत दिनु पर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
संघर्ष समितिले सरकारसमक्ष कृषि विद्युतीकरण र सिँचाइ उपकरण सबैका लागि निःशुल्क उपलब्ध गराउन, खानेपानीको आपूर्ति सुनिश्चित गर्न, र मधेसमा वातावरणीय संकटको दीर्घकालीन समाधान खोज्न माग राखेको छ ।
प्रदर्शनमा सहभागीहरूले चुरे क्षेत्रको विनाश, अवैज्ञानिक उत्खनन, वन अतिक्रमण, र जल स्रोतको ह्रास जस्ता कारणले मधेस मरूभूमितर्फ अग्रसर भइरहेको गुनासो गरेका छन् ।
संघर्ष समितिका अनुसार समयमै पानी र सिँचाइको व्यवस्था नगरिए कृषि उत्पादनमा ठूलो गिरावट आउने, जसको असर खाद्य सुरक्षादेखि कृषकको जीविकोपार्जनसम्म पर्नेछ ।