देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको थोरै उत्तरतर्फ अवस्थित रहेकाले मौसममा व्यापक असर परेको हो । शनिबार दिउँसो देशभर साधारणतया बदली रहने र गण्डकी, लुम्बिनी लगायत पहाडी भू–भागका धेरै स्थानहरूमा तथा तराई क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुने अनुमान गरिएको छ ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, शनिबार राति पनि देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ । महाशाखाका अनुसार पछिल्ला तीन घन्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
महाशाखाले जोखिमपूर्ण स्थानहरूमा सतर्कता अपनाउन र सम्भावित बाढी, पहिरो तथा जलस्रोतजन्य जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।