राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ। बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार आज (सोमबार) वा भोलि (मंगलबार)भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
नतिजा प्रकाशनसम्बन्धी निर्णय गर्नका लागि आज साँझ ५ बजे बोर्डको बैठक बस्नेछ। सम्भवतः उक्त बैठकले नै नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने बताइएको छ। आइतबार बसेको बोर्ड बैठकमा पनि सदस्यहरूलाई नतिजा प्रकाशनसम्बन्धी तयारीबारे ब्रिफिङ गरिएको थियो।
यस वर्षको कक्षा १२ को परीक्षा वैशाखमा देशभर सञ्चालन गरिएको थियो। उक्त परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार परीक्षार्थी थिए।
५ हजार २ सय २ विद्यालयका विद्यार्थीलाई १ हजार ५ सय ९१ परीक्षा केन्द्रमार्फत परीक्षा दिलाइएको थियो। जापानस्थित एभरेस्ट स्कुलका ३८ जना विद्यार्थी पनि परीक्षा दिएका थिए।
देशभरका ७७ जिल्लामध्ये काठमाडौँबाट सबैभन्दा बढी ६८ हजार परीक्षार्थीले सहभागिता जनाएका थिए भने मनाङबाट सबैभन्दा कम ४५ जनाले परीक्षा दिएका थिए। काठमाडौँमा १६२ परीक्षा केन्द्र तोकिएको थियो भने मनाङ र मुस्ताङमा १/१ वटा मात्र परीक्षा केन्द्र सञ्चालन गरिएको थियो।
नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलनका कारण वैशाख ११ गतेदेखि तय गरिएको परीक्षा १० दिन ढिला गरी वैशाख २१ गतेदेखि सुरु गरिएको थियो।
परीक्षा सकिएपछि जेठ २ गतेदेखि उत्तरपुस्तिका परीक्षण कार्य सुरु भएको थियो। कक्षा १२ मा लागु लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक अनिवार्य गरिएको छ। न्यूनतम अंक नल्याउने विद्यार्थीलाई ननग्रेडिङ श्रेणीमा राखिनेछ।
गत वर्ष कक्षा १२ को परीक्षामा कुल ५२ प्रतिशत विद्यार्थी मात्र ग्रेडिङ (उत्तीर्ण) हुन सफल भएका थिए।