वैदेशिक रोजगारीमा गएका नेपाली महिला श्रमिकहरूको मृत्यु भएपछि उनीहरूका परिवार सामाजिक, मानसिक र आर्थिक रूपमा गम्भीर सङ्कटमा पर्ने गरेका छन् ।
महिला पुनर्स्थापना केन्द्र (WOREC) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले राज्यको गैरजिम्मेवारी र संवेदनहीनताका कारण विदेशमा मृत्यु हुने महिला श्रमिकको परिवार थप समस्यामा पर्ने गरेको देखाएको हो । १७ वटा घटनाको अध्ययनमा आधारित उक्त प्रतिवेदनले घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा गएकी महिलाको मृत्युपछि राज्यको उपस्थिति अत्यन्तै न्यून रहेको उल्लेख गरिएको छ।
मृतक महिला श्रमिकको शव नेपाल ल्याउने प्रक्रिया ढिलो हुने, खर्चिलो हुने र नेपाली दूतावास तथा नियोगहरूको सहयोग अत्यन्त सीमित हुने परिवारहरूको गुनासो रहेको प्रतिवेदनमा छ । यसले गर्दा मृत्यु पश्चात परिवारले मानसिक तनाव मात्र होइन, आर्थिक रूपमा समेत ठूलो धक्का व्यहोर्नु पर्ने अवस्था आएको छ । साना बालबालिका र बृद्ध अभिभावक मानसिक समस्याबाट पीडित हुने, ऋण तिर्न नसक्दा घरजग्गा बेचनुपर्ने अवस्था देखिएको छ ।
विशेष गरी अनौपचारिक च्यानलमार्फत वैदेशिक रोजगारीमा गएकी महिलाको मृत्यु भएपछि शव ल्याउने प्रक्रिया झन् जटिल र अपारदर्शी हुने गरेको प्रतिवेदनले औंल्याएको छ। यस्तो अवस्थामा मृतक महिला श्रमिकको परिवारले सामाजिक लाञ्छना र बहिष्कारसमेत भोग्नुपरेको पाइएको छ ।
महिला पुनर्स्थापना केन्द्रले राज्यलाई वैदेशिक रोजगारीमा जाने महिलाहरूको सुरक्षाको सुनिश्चितता, अनौपचारिक च्यानल नियन्त्रण, पीडित परिवारलाई तत्काल सहयोग, तथा शव व्यवस्थापनको स्पष्ट नीति बनाउन सुझाव दिएको छ ।