अध्ययन बिदाको नाममा त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई आर्थिक बोझ बोकाएर विदेशमा बसेका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन् । त्रिविले गरेको आन्तरिक छानबिन अनुसार विश्वविद्यालयका १ सय ९१ जना उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापकले मासिक तलब सुविधासहित अध्ययन बिदा लिएर विदेश बसेको खुलासा भएको छ ।
रजिस्ट्रार डा. केदारप्रसाद रिजालका अनुसार तीमध्ये ४५ जना प्राध्यापक हालसम्म रकम फिर्ता गर्न त्रिविसँग सम्पर्कमा आएका छन्। “५–७ जनाले मात्रै ३ करोड रुपैयाँभन्दा बढी फिर्ता गरिसकेका छन् । थप ४५ जना रकम फिर्ता गर्न विश्वविद्यालयको सम्पर्कमा आएका छन्,” उनले जानकारी दिए, “रकम फिर्ता सहजीकरणका लागि हेल्प डेस्क स्थापना गर्ने तयारी गरेका छौं ।”
त्रिविका अनुसार अध्ययन बिदा लिएर पनि न पढाइ पूरा गर्ने न विश्वविद्यालयमै फर्किने प्रवृत्तिका कारण विश्वविद्यालयलाई डेढ अर्ब रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भएको अनुमान छ । २ सय १३ जनाभन्दा बढी प्राध्यापक तथा कर्मचारीले तलब र अन्य सुविधा लिएर पनि अध्ययन नपूर्याएको त्रिविको तथ्यांक छ ।
त्रिविले असार महिनाको अन्तिम साता सूचना प्रकाशित गरी अध्ययन बिदा लिएर विश्वविद्यालयमा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो । सो अवधिमा बिदामा बस्दा लिएको सम्पूर्ण पारिश्रमिक ब्याजसहित विश्वविद्यालयको खातामा फिर्ता गर्न ताकेता गरिएको थियो ।
रजिस्ट्रार रिजालले व्यक्तिगत गोपनीयता सुनिश्चित गर्न हाललाई रकम फिर्ता गर्नेको नाम सार्वजनिक नगरेको बताए । यद्यपि तोकिएको समयभित्र रकम फिर्ता नगर्नेहरूका नाम सार्वजनिक गर्ने त्रिवि प्रशासनको आन्तरिक तयारी रहेको उनको भनाइ छ ।