अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात कर लगाएका छन् । योसँगै पहिलेदेखि लागु गरिएको २५ प्रतिशत करसमेत जोड्दा भारतमाथिको कूल कर भार ५० प्रतिशत पुगेको छ ।
व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पसँग चीनसहित थुप्रै देशले रुसबाट तेल खरिद गर्दै आएका छन्, तर भारतलाई नै किन निशाना बनाइएको हो ? भन्ने प्रश्न सोधिएको थियो ।
प्रतिक्रियामा ट्रम्पले भने, “अहिले त मात्र ८ घण्टा भएको छ, हेरौं अगाडि के हुन्छ। अझै धेरै देख्न बाँकी छ। कयौं अतिरिक्त प्रतिबन्धहरू देख्न पाउनुहुनेछ ।”
चीनमाथि पनि यस्तै थप कर लगाउने तयारीबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, “त्यो पनि हुन सक्छ । तर हामीले अगाडि कस्तो कदम चाल्छौं भन्ने कुराले सबै कुरा निर्धारण गर्नेछ ।”
ट्रम्प प्रशासनको यो कदमले भारत–अमेरिका व्यापार सम्बन्धमा थप तनाब आउने संकेत देखिएको छ । ट्रम्पको कडा व्यापार नीति विगतदेखि नै विवादित रहँदै आएको छ ।