ठोरी गाउँपालिका–४ मालीबस्तीनजिकै भारततर्फ जाने बाटोमा पाटेबाघ मृत अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी किशोर लम्सालका अनुसार विहान स्थानीयबासीले उक्त पाटेबाघ मृत अवस्थामा भेटिएको सूचना दिएका थिए । ठोरीको मालीबस्तीस्थित हुलाकी सडकभन्दा लगभग ५०० मिटर दक्षिणतर्फ मृत भेटिएको स्थलमा प्रहरी सहायक निरीक्षक धर्मेन्द्र साहको कमाण्डमा टोली खटिएको छ ।
सो क्रममा पर्सा राष्ट्रिय निकुञ्ज र नेपाली सबुज गणका टोली पनि आवश्यक अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन् । पर्सा प्रहरीका अनुसार घटनास्थल प्रहरी चौकी विजयबस्तीबाट करिब चार किलोमिटर टाढा रहेको छ । पर्सा राष्ट्रिय निकुञ्जका रेञ्जर जयराम न्यौपानेले मृत पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्ज ल्याइएको जानकारी दिएका छन् । उनका अनुसार पाटेबाघको शरीरमा सामान्य चोटपटक देखिएको छ ।
ती चोटपटक बाघ जुँधेर लागेको हो वा अन्य कारणले लागेको हो भन्ने विषयमा शव परीक्षणपछि मात्र स्पष्ट जानकारी हुने प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री