भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदका लागि सहमति प्रदान गरेको छ ।
पाँच जलविद्युत् आयोजना — लिखु(२), लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली निर्यातका लागि अनुमति दिइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत् आयातका लागि अनुमति दिएको थियो । नयाँ स्वीकृतिसँगै भारततर्फ नेपालबाट १,०११ मेगावाट विद्युत् निर्यातको बाटो खुलेको छ । नेपालले बंगलादेशमा पनि ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । यसरी कुल निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको छ । हाल स्वीकृति प्राप्त २०० मेगावाट विद्युत् निर्यात अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले भारतलाई विद्युत् बिक्री गरेर १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो । भारतबाट थप निर्यात अनुमति प्राप्त भएकाले यो आर्थिक वर्षमा विद्युत् निर्यात दोब्बर हुने अनुमान प्राधिकरणले गरेको छ ।