सप्तरी । जनमत पार्टीले सङ्गठनभित्र अनुशासन, पारदर्शिता र आदर्शलाई मजबुत बनाउने उद्देश्यसहित ‘आन्तरिक शुद्धिकरण अभियान’ सुरु गरेको छ ।
पार्टीभित्र रहेको पक्षपात, गुटबन्दी, घुसपैठ र व्यक्तिगत स्वार्थका गतिविधि अन्त्य गर्दै कार्यकर्ता र नेतृत्वबीचको विश्वास, एकता तथा साझा लक्ष्यप्रति प्रतिबद्धता पुनःस्थापना गर्ने लक्ष्यसहित अभियान थालिएको हो ।
अभियानअन्तर्गत सबै तहका नेताकार्यकर्ताको कार्यशैली, गतिविधि र योगदानको मूल्याङ्कन गरिनेछ । कार्यकर्ताले देखेका समस्या वा अनुशासनहीन गतिविधिबारे गोप्य रूपमा सुझाव तथा गुनासो दिने व्यवस्था मिलाइने जनमत पार्टीका उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा. जयकान्त राउतले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो ।
नेताकार्यकर्ताबाट लिखित प्रतिवेदनमार्फत स्व–मूल्याङ्कन गराइने र तथ्य–जाँच समितिद्वारा आरोपको सत्यता परीक्षण गरिनेछ । गल्ती गर्ने तर सुधारको इच्छाशक्ति देखाउनेलाई चेतावनी, प्रशिक्षण वा मार्गदर्शन दिइनेछ भने बारम्बार नियम उल्लङ्घन गर्ने वा पार्टी हितविपरीत कार्य गर्नेहरूलाई निलम्बन वा बर्खास्तजस्ता कडा कारबाही गरिने पार्टीले जनाएको छ ।
पारदर्शी प्रक्रिया, एकता कायम र सकारात्मक दृष्टिकोणलाई अभियानको आधार बनाउँदै राजनीतिक शिक्षा, नीति, सङ्गठनात्मक अनुशासन र नेतृत्व क्षमतामा तालिमका कार्यक्रम पनि सञ्चालन गरिने जनमत पार्टीले जनाएको छ ।
अभियानपछि सङ्गठनभित्र स्वच्छ छवि र उच्च नैतिकता कायम हुने, नेताकार्यकर्ताबीच आपसी विश्वास र एकता मजबुत हुने तथा पार्टी जनताबीच अझ विश्वसनीय र आकर्षक बन्ने अपेक्षा पार्टीले लिएको छ ।