पर्सा । लामो समयदेखि खडेरीको मारमा परेका पर्साका कृषकलाई मङ्गलबारदेखि परेको वर्षाले केही राहत पुगेको छ ।
खडेरीका कारण धाँजा फाटेका खेतमा वर्षा भएको पानी सङ्कलन हुन थालेपछि धानबालीमा हरियाली देखिन थालेको छ। वीरगंज महानगरपालिका–२६ का कृषक रामजीवन साहका अनुसार अकाशेपानी पर्न थालेसँगै रोपाइँ गरेका धानबाली विस्तारै ताजगी लिन थालेका छन् ।
‘यसअघि पर्साको बजार क्षेत्रमा खासै ठूलो पानी परेको थिएन,’ उनले भने, ‘मङ्गलबार दिउँसो र बुधबार बिहान परेको वर्षाले कृषकलाई केही मात्रामा भए पनि राहत मिलेको छ ।’
मौसम फिल्ड कार्यालय सिमराका सहायक मौसमविद् लक्ष्मण कँडेलका अनुसार मङ्गलबार बिहान ८:४५ बजेदेखि बुधबार बिहान ८:४५ बजेसम्म वीरगञ्ज बजार क्षेत्रमा ४९ मिलिमिटर वर्षा मापन गरिएको छ।
‘वीरगंजको बजार क्षेत्रमा मध्यम वर्षा भएको छ,’ उनले भने, ‘तर ग्रामीण क्षेत्रमा भने त्यति धेरै वर्षा भएको छैन ।’
उनका अनुसार मधेश प्रदेशमा अझै तीन दिनसम्म वर्षा हुने अनुमान गरिएको छ । यस अवधिमा बारामा ९.२ मिलिमिटर वर्षा मापन भएको छ ।
भिडियाे सामाग्री