काठमाडौँ | कुवेतमा विषाक्त मदिरा सेवनका कारण ९ जना नेपालीले ज्यान गुमाएका छन् । त्यहाँस्थित अस्पतालका अनुसार केही अझै उपचारमा छन् भने केहीलाई डिस्चार्ज गरिसकिएको छ । कुवेतस्थित नेपाली राजदूतावासलाई अस्पतालले उक्त जानकारी दिएको हो ।
दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार मृत्यु हुनेहरूको विवरण संकलन भइरहेको छ। उनले मेडिकल रिपोर्ट नआउँदासम्म मृत्युको कारण निश्चित गर्न नसकिने बताए ।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्ला तीन दिनमा ९ नेपालीसहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको छ। हाल १ सय ६० जनाभन्दा बढी उपचारमा रहेका छन् । मिर्गौला फेल भएका बिरामीको डायलासिस भइरहेको र केहीमा दृष्टिदोष देखिएको मन्त्रालयले जनाएको छ ।
विषाक्त मदिरामा मेथानोल प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको छ। मेथानोल सामान्यतया उद्योगमा एन्टिफ्रिज, सोल्भेन्ट र इन्धन बनाउन प्रयोग हुने विषालु रसायन हो, जुन खाद्य प्रयोजनमा प्रयोग गर्न निषेध छ। यसलाई सेवन गर्दा टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने, कोमामा पुग्ने र मृत्यु हुनेसम्मको जोखिम हुन्छ ।
कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित भए पनि लुकिछिपी उत्पादन र अवैध बिक्री हुने गरेको पाइएको छ । विषाक्त मदिराको स्रोत पत्ता लगाउन त्यहाँको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
भिडियाे सामाग्री