काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच महिनाभित्र फाइब जी (५ जी) सेवा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्य सम्झौतामा उल्लेख गरेकाले सो कार्यान्वयन गरिने उहाँको भनाइ छ।
तामाङ पत्रकार सङ्घको ३१औं प्रसारण दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले काठमाडौं उपत्यका र पोखरामा पहिलो पटक फाइब जी सेवा सुरु गरिने स्पष्ट पार्नुभयो । उहाँले भने, “प्रविधिमा अन्य मुलुकले धेरै फड्को मारेका छन्, नेपालमा फाइब जी सेवा सुरु गर्दा अन्य मुलुकले ६ जी सेवा सुरु गरिसक्ने अवस्था हुनेछ ।”
मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारप्रति मात्र नभई जनताप्रति जिम्मेवार बनाउने उद्देश्यसहित सार्वजनिक सेवा प्रसारण (PSB) का रूपमा सञ्चालन भइरहेको जानकारी दिनुभयो । गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस) को पुराना ऐनको ठाउँमा नयाँ ऐन निर्माण गरी संरचनागत सुधार गर्ने प्रयास मन्त्रालयले थालेको उहाँले बताउनुभयो ।
अर्को प्रसङ्गमा, सरकारका पूर्व प्रवक्ता समेत रहनुभएका गुरुङले मिडिया काउन्सिललाई स्वायत्त बनाउने प्रयास भइरहेको उल्लेख गर्दै भन्नुभयो, “काउन्सिलको अध्यक्ष सरकारले नियुक्त गर्ने प्रावधान भए तापनि निर्णय प्रक्रियामा काउन्सिलले स्वायत्त भएर काम गर्नेछ ।”
भिडियाे सामाग्री